August 17, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भारतको बाबाधाम जाँदै गरेको बस दुर्घटना,गरुडाको तीन जना तीर्थयात्रीको मृत्यु

प्रतीकात्मक तस्बिर
२०८३ श्रावण २९

475

रौतहट : भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र निजकी श्रीमती सुन्दरबाला देवी तथा १२ वर्षीय शिवम् महतोको मृत्यु भएको हो । गरुडा नगरपालिका–६ का वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परी आफ्ना गाउँका तीन जना तीर्थयात्रीको मृत्यु भएको र १२ जना जति घाइते भएको जानकारी दिए । उनका अनुसार बसमा करिब ४५ नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्डअन्तर्गत सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका बासिन्दा रहेका छन् । बस दुर्घटनामा परेको जानकारी पाउनासाथ मृतक तथा घाइतेका आफन्तजन घटनास्थलतर्फ गएको र गरुडा–६ स्थित पोठियाही गाउँ अहिले शोकमा डुबेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पाँच दिनअघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस आज बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु र १२ जना घाइते भएको जानकारी दिए ।
उनले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग पहल गरेको र आवश्यक देखिए घटनास्थलतर्फ जाने तयारीसमेत भइरहेको जानकारी दिएका छन् ।