August 18, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

ललिता निवास मुद्दामा माधव नेपाल र भट्टराईसहितसँग लिखित जवाफ माग

फाईल तस्विर ।
२०८३ श्रावण २८

95

काठमाडौँ : ललिता निवासको सरकारी जग्गा अनियमित रूपमा व्यक्तिका नाममा कायम गरिएको भनिएको प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित सम्बन्धित निकायसँग लिखित जवाफ मागेको छ ।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेल सम्मिलित पूर्ण इजलासले बिहीबार यस्तो आदेश गरेको हो । आदेश वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सात वर्षअघि दायर गरेको रिट निवेदनसँग सम्बन्धित छ ।
रिटमार्फत ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई तथा तत्कालीन मुख्यसचिव लिलामणि पौडेललाई प्रतिवादी नबनाएको विषयमा प्रश्न उठाइएको थियो ।
आयोगले २०७६ जेठ २२ गते ललिता निवास जग्गा अनियमिततासम्बन्धी मुद्दामा १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर तत्कालीन दुई प्रधानमन्त्री र मुख्यसचिवलाई मुद्दामा समावेश नगरिएको भन्दै न्यौपानेले त्यसविरुद्ध रिट दायर गरेका थिए ।
यसअघि पनि सर्वोच्चले उक्त विषयमा अख्तियारसँग कारण मागेको थियो । बिहीबारको आदेशमा भने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँगै विशेष अदालत तथा महान्यायाधिवक्ताको कार्यालयलाई समेत उनीहरूलाई प्रतिवादी नबनाउनुपर्ने आधारबारे लिखित जवाफ पेस गर्न भनिएको रिट निवेदक न्यौपानेले बताएका छन् ।
रिट निवेदकले अख्तियारले छानबिनका क्रममा व्यक्तिअनुसार फरक व्यवहार गरी कसैलाई उन्मुक्ति दिन नमिल्ने दाबी गर्दै आएका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीस्तरबाट नीतिगत निर्णय भएको दाबीसमेत रिटमा गरिएको छ ।
रिट दायर भएको लामो समय बितिसक्दा पनि यसको अन्तिम टुंगो लाग्न सकेको छैन । निवेदकले दुवै पूर्वप्रधानमन्त्री तथा पूर्वमुख्यसचिवलाई समेत मुद्दामा प्रतिवादी कायम गर्न अख्तियारलाई निर्देशन दिन अदालतसमक्ष माग गरेका छन् ।