August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पाँच महिनापछि पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्किए

२०८३ श्रावण २८

205

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएपछि एक वक्तव्य जारी गर्दै झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएको अवसरमा आफ्ना विचार, अनुभूति र राजनीतिक दृष्टिकोण सार्वजनिक गरेका छन् ।
स्वास्थ्य उपचारका क्रममा आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै देउवाले आफू पुनः एक विनम्र सेवकका रूपमा देश र जनताको सेवामा समर्पित हुन तत्पर रहेको बताएका छन् । उनले हिमालका शिखर, पहाडका हरियाली र तराईका विशाल मैदानहरूले आफूलाई घरतर्फ बोलाएको अनुभूति भएको उल्लेख गरेका छन् ।
आफ्नो वक्तव्यमा सभापति देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौँको राजनीतिक संघर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको स्पष्ट पारेका छन् । वि.सं. २००७ अघिको समय र२०२० सालदेखि निरन्तर राजनीतिको दुख, सुख र संघर्षपूर्ण दिनहरू मानसपटलमा अझै ताजा रहेको भन्दै उनले बिपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका अग्रजहरूको त्याग र योगदानलाई कहिल्यै भुल्न नसकिने र त्यो विरासत गौरवको पदक नभई जनताको विश्वासका रूपमा बोकेको पवित्र जिम्मेवारी भएको उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको बताउँदै विश्व परिवर्तन भइसकेको अवस्थामा नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको र समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई स्वीकार गरेको बताएका छन् ।
समाजका सबैसँगै युवा पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्ने काममा कांग्रेसले सधैँ नेतृत्व गर्ने प्रतिबद्धता जनाउँदै उनले गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई सम्बोधन गर्नुपर्छ भन्ने धारणा आफूले उतिबेलै राखेको स्मरण गराएका छन् ।
परिवर्तनको अर्थ विगत खराब थियो भन्ने नभएको र हाम्रा पुस्ताले लोकतन्त्र, स्वतन्त्रता र अधिकारका लागि लामो समय संघर्ष र बलिदान गरेको भन्दै इतिहासलाई नकारात्मक रूपमा फैलाउने भाष्य सही नभएको उनको भनाइ छ । केही कमी–कमजोरी भए स्वीकार गर्दै समुन्नत मुलुक निर्माणमा सबैको हातेमालो आवश्यक रहेको र अस्थायी सत्ताभन्दा जनताको मन बुझ्ने नेता मात्रै सदा स्मरणीय हुने धारणा उनले व्यक्त गरेका छन् ।
राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै देउवाले परिवर्तनको बाटो समतल नहुने र यसले धैर्य, साहस र दृढताको परीक्षा लिने बताएका छन् । जनतामा देखिएको परिवर्तनको ठूलो आकांक्षालाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको र आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्ने काम सत्तासीन दल र मुलुकका लागि हितकर नहुने उनले चेतावनी दिएका छन् । ताजा जनादेशबाट उदाएको सत्ताारूढ दलले जनताको मतलाई कदर गर्न नसके लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न नसक्ने बताउँदै उहाँले अन्धाधुन्ध नदौडी विवेक, पारदर्शिता र न्यायका आधारमा रूपान्तरणलाई अघि बढाउने स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै देउवाले राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण र वर्तमान संविधानको संरक्षण तथा संशोधन गर्दा पनि राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा जोड दिएका छन् ।
अंक गणितीय रूपमा संसदमा कांग्रेस सानो–ठूलो भए पनि २००७ सालदेखिको हरेक परिवर्तनको नेतृत्वकर्ता भएको स्मरण गराउँदै अहिले देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्ने उनको भनाइ छ ।
युवा साथीहरू अघि बढ्नुपर्ने तर त्यसको मतलब पाका र अनुभवी खराब हुन् भन्ने गलत भाष्य वा सामाजिक सञ्जालको भुलभुलैयामा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै देउवाले राजनीतिक रूपमा आफूले लिनुपर्ने केही नरहे पनि विगतको अनुभव मुलुक र पार्टीका लागि नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको बताएका छन् । पार्टीका साथीहरूमा देखिएको निराशा चिर्न र उनीहरूको मनोबल बढाउन पार्टीभित्रका भावनालाई जोड्ने कार्यमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई उनले आह्वान गरेका छन् । विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रम तथा पार्टीभित्रका विवाद मिलाएको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
अन्तमा, आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको स्पष्ट पार्दै देउवाले २०३३ सालमा बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने उद्घोष गरेझैँ, ४७ वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबुत बनाउन सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताएका छन् ।
विगतका विभाजन र विद्वेषका घाउहरू निको पार्दै प्रतिशोध होइन, मेलमिलापको मार्ग रोज्न अपिल गर्दै उनले प्रत्येक बालकले निर्भीक सपना देख्न सकून्, ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाऊन् र प्रत्येक समुदाय समृद्धि र अवसरका साथ फस्टाउन सकून् भन्ने नेपाल निर्माणको सपना व्यक्त गरेका छन् ।
उनले सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दा आलोचना र प्रत्यालोचनाहरू स्वाभाविक भए पनि आफूले सधैँ राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानेर काम गरेको, कानुन र नीतिविपरीत कुनै काम नगरेको र आफ्नो जीवन खुला किताब रहेको दाबी गरेका छन् । जीवन रहेसम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान, कानुन र नैतिक मूल्य मान्यता अनुरूप काम गर्ने र यी विषयमा कुनै सम्झौता नगर्ने प्रतिज्ञा गर्दै देउवाले आफू नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण तथा प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।