काठमाण्डौँ : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा बिहीबार पत्रकार तथा सञ्चारकर्मीले जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धर्ना दिँदै श्रेष्ठको विनाशर्त रिहाइको माग गरेका हुन् ।
श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ । जनआस्था साप्ताहिकमा प्रकाशित सामग्रीसँग सम्बन्धित विषयमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
श्रेष्ठको पक्राउपछि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी प्रहरी परिसर पुगेका थिए । धर्नामा सहभागीहरूले नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागी पत्रकारले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।






