वाशिङटन डीसी : स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ । सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टेट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ । कुन–कुन स्थानमा आक्रमण गरिएको हो भन्ने विवरण भने सेन्टकमले सार्वजनिक गरेको छैन ।
इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबिच भएको समझदारी सम्झौताको उल्लङ्घन भएको बताएका छन् । उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ । आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको जनाइएको छ ।(एजेन्सी)

