काठमाडौं : साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ । यससँगै कप्तान लियोनल मेसीको विश्वकप यात्रा पनि जारी रहँदै टोली क्वाटरफाइनलमा पुगेको छ ।
एटलान्टामा भर्खरै सम्पन्न अन्तिम–१६ को खेलमा यासेर इब्राहिम र मोस्तफा जिकोले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाएका थिए । यसबीच मेसीले पाएको पेनाल्टी पनि गोलकिपर मोस्तफा शोबेरले बचाएका थिए ।
तर खेलको अन्तिम ११ मिनेट र इन्जुरी समय अर्जेन्टिनाका लागि ऐतिहासिक बन्यो । क्रिस्टियन रोमेरोले हेडरमार्फत पहिलो गोल गर्दै पुनरागमनको संकेत दिए ।
त्यसपछि मेसीले शानदार हाफ–भलीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए ।
यो गोलसँगै मेसीले लगातार नवौं विश्वकप खेलमा गोल गर्ने कीर्तिमान कायम गरे । साथै उनले यस संस्करणमा आफ्नो गोल संख्या आठ पु¥याउँदै गोल्डेन बुट दौडमा फेरि अग्रता बनाए । पराजयपछि इजिप्टले भने रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । दोस्रो हाफको सुरुआतमै मोहमद सलाहको पासमा मोस्तफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि फाउल देखाउँदै रद्द गरिएको थियो । उक्त निर्णय निकै विवादास्पद बनेको थियो ।
अर्जेन्टिनाको विजयी गोलपछि इजिप्टको प्रशिक्षक टोलीका एक सदस्यले रातो कार्ड पनि पाए । अब अर्जेन्टिनाले शनिबार हुने क्वाटरफाइनलमा कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

