July 8, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर

२०८३ असार २४

195

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई राज्यविरुद्धको कसूरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने कार्यले राज्यको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा आँच पुर्याएको भन्दै उनीहरूलाई सो कसूरमा दोषी ठहर गरिएको हो ।
राज्यविरुद्धको कसूरमा दोषी ठहर हुनेहरूमा टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गिरोहका मुख्य सदस्यहरू केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पा रहेका छन् ।
अदालतले उनीहरूलाई सङ्गठित ठगी र राज्यविरुद्धको कसूरमा मुख्य योजनाकार र कार्यान्वयनकर्ताको रूपमा व्याख्या गरेको छ ।
फैसलामा आफ्नै नागरिकलाई अनागरिक बनाउने र शरणार्थीको सूचीमा राख्ने कार्यले नेपालको सार्वभौमसत्ता र प्रतिष्ठामा गम्भीर असर पुर्याएकाले उनीहरूलाई राज्यविरुद्धको कसूर अन्तर्गत सजाय हुनुपर्ने ठहर गरिएको हो ।
यसै प्रकरणका अन्य प्रतिवादी बालकृष्ण खाणलाई भने राज्यविरुद्धको कसूरमा ’मतियार’को रूपमा मात्र दोषी ठहर गरिएको छ । दोषी ठहर भएका सबैको सजाय निर्धारण आगामी असार २९ गते हुनेछ ।