काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाका डीआईजी शेखर खनाललाई असार १९ गते गृहमन्त्री सुधन गुरुङले त्यहाँबाट सरुवा गरेर डीआईजी अरुण पौडेललाई अख्तियारमा सरुवा गर्ने निर्णय गरे ।
अघिल्लो दिन प्रहरी महाशाखाका एसपीद्वय मोहन थापा र प्राविधिक समूहतर्फका दिपेश जोशीसहित १७ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाउने निर्णय गरेको थियो । अख्तियारमा कार्यरत ५ जना डीएसपी र १० जना इन्स्पेक्टरलाई त्यहाँबाट अचानक हटाइएको छ ।
अख्तियारमा खटिएका डीएसपी र इन्सपेक्टर दुई वर्षसम्म फिर्ता नहुने अभ्यास छ । भ्रष्टाचारका विभिन्न मुद्दा अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरूलाई निर्धारित समय पूरा गरेरमात्र फिर्ता बोलाउने प्रचलन छ । यद्यपि अहिले त्यो प्रचलन तोडेर दुई वर्ष नपुग्दै प्रहरी अधिकृतहरूलाई सरुवा गरिएको हो ।
अख्तियारबाट सरुवा हुनेमा डीएसपी उमेश लम्सालसहितका अधिकृत छन् । लम्साललाई मधेस प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा खटिएका अधिकृतहरूको एकाएक किन सरुवा भयो भन्नेबारे प्रश्न उठेको छ । अख्तियारमा निजामती सहित ९९० जना कर्मचारी छन्, तर प्रहरी अधिकृतहरूमात्रै त्यहाँबाट सरुवा भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय र अख्तियारका पदाधिकारीहरूबिच द्वन्द्व सुरु भएपछि अख्तियारमा कार्यरत प्रहरी अधिकृतहरू सरुवा भएका हुन् । राहदानी छपाईमा भएको अनियमितताबारे अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसहितका पदाधिकारीलाई प्रधानमन्त्रीको सचिवालयमा बोलाएर ‘दबाब’ दिएको आरोप छ ।
असार १ मा प्रधानमन्त्रीको सचिवालयमा दिनभर छलफल गरेर साँझ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनील कुमार केसीलाई प्रधानमन्त्रीको टिमले भने अनुसार अख्तियारले पक्राउ गरेको थियो । पछि जर्मन ठेकदार कम्पनी भेरिडोसका मुनिन्द्रराज मल्लसहितका आरोपित पक्राउ परे । उनीहरू सबैजना विशेष अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।
असार ७ गते चितवनमा रास्वपाको महाधिवेशन उद्घाटनमा प्रधानमन्त्री बालेन शाहले अख्तियारका पदाधिकारीलाई सिंहदरबार बोलाएको स्विकार्दै भने, ‘विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टामात्रै नभएर ५ वर्षसम्म नै राखेर सल्लाह गरिन्छ ।’
यसअघि अख्तियारमा अनुसन्धानमा काबिल मानिएका अफिसरमात्रै पठाउने गरिएको थियो । अख्तियारले स्क्रिनिङ गरेका अधिकृतहरूलाई पठाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने गरेको थियो । तर, यसपटक प्रधान कार्यालयले हतारमा खोजेर अधिकृतहरू पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । प्रहरी प्रधान कार्यालयले अख्तियारमा एसपीद्वय सुधिरराज शाही, सुनिल कुमार वर्णवाल, डीएसपीहरू सिद्धराज न्यौपाने, माधवराज खरेल, हरि बहादुर बस्नेत, रुपा लाबुङ्ग र युवराज भण्डारीलाई पठाएको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार इन्स्पेक्टरहरू मनोज कुमार यादव, राज कुमार भट्ट, प्रह्लाद सिलवाल, सुरज खड्का, श्रीराम भट्ट, देवसिंह भण्डारी, उपेन्द्र बहादुर बम र रामकृष्ण पाठक अख्तियारमा खटिएका छन् ।
अख्तियारका प्रहरीलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । उनले भने, ‘अख्तियारका अधिकृतहरूको नियमित सरुवा हो ।’
यसअघि अख्तियारमा डीएसपी र इन्स्पेक्टर दुई वर्ष बस्नुपर्ने प्रचलन थियो । प्रहरी प्रधान कार्यालयले सो प्रचलन तोडेको छ । (रातोपाटीबाट)

