रौतहट : जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा, मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान चिन्तित छन् ।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यस वर्ष पनि सोही हाराहारी क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहे पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको छ ।
वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको सूचना अधिकारी मण्डलले बताए । मनसुन राम्रो हुने अनुमान गरिए पनि रौतहटमा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तामा छन् । केही दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रूपमा सुकिसकेका थिए । अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रूपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको गौर नगरपालिका–६ टिकुलियाका किसान हरदेव साहले जानकारी दिए ।
सिँचाइ नहरमा हालसम्म पानी नछोडिएकाले वैकल्पिक व्यवस्था अभावमा किसान थप समस्यामा परेका छन् । (अन्नपुर्ण पोष्टबाट)

