काठमाडौँ : सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने कामलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गुरुङले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन निर्देशन दिँदै आफ्नो गाडीको सिसा पनि हटाउन भनेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गुरुङले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस् ।’
गृहमन्त्रीले चढ्ने गाडीमा कालो सिसा राख्ने प्रचलन थियो । तर, गुरुङ धेरैजसो आफ्नै गाडीमा यात्रा गर्दै आएका छन् । उनको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाउने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन् – ‘उहाँको गाडीको कालो सिसा पनि अब हटाउँछौँ ।’
असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालेको छ । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो ।
कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग सोमबार छलफल गरिरहेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीले भने– ‘कतिपय गाडीमा कम्पनीबाट नै कालो सिसा जडान भएर आएको भेटियो, त्यसबारे छलफल गर्दैछौँ ।’

