काठमाडौं : स्कटल्याण्डलाई पराजित गर्दै ब्राजिल समूह ’सी’ को शीर्षस्थानमा पुगेको छ । समूह चरणको तेस्रो खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको हो । उक्त जितसँगै तालिकामा ब्राजिलले सात अंक जोड्यो ।
ब्राजिलका लागि भिन्सियस जुनियरले दुई गोल गरे । उनले खेलको छैटौंँ र २१ औँ मिनेटमा गोल गरे । खेलको ६० औँ मिनेटमा म्याथुज क्युनाले गोल गर्दा नतिजा ३–० मा पुगेको हो ।
तीन खेल खेल्दा ब्राजिलले १ मा बराबरी र दुईमा जित निकालेको हो । ब्राजिल पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हाइटीलाई ३–० ले पराजित गरेको थियो ।
स्कटल्याण्डले यसअघिका दुई खेलमा हाइटीसँग १–० को जित निकालेको थियो भने मोरोक्कोसँग १–० को हार व्यहोरेको थियो । ब्राजिलसँगको पराजयसँगै स्कटल्याण्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।
यता, मोरोक्कोले हाइटीलाई ४–२ ले पराजित गरेको छ । पहिलो हाफको १० औँ मिनेटमा हाइटीका लियोन जोसेफले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोरोक्कोका लागि अकरफ हाकिमीले २९ औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । यस्तै, हाइटीका विल्सन इडिसरले ४३ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता बढाए । त्यसको दुई मिनेटमा मोरक्कोका इसाले साइबरीले गोल गर्दा पहिलो हाफ २–२ को बराबरीमा समाप्त भएको थियो । ७८ औँ मिनेटमा मोरक्कोका सोफियान रहुनीले गोल गरे इन्जुरी टाइममा जेसिन यासिनले गोल गर्दै नतिजा ४–२ को अवस्थामा पु¥याए । मोरोक्को चारअंकसहित दोस्रो स्थानमा छ ।
मोरक्कोले यसअघिका दुई खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो भने स्कटल्याण्डसँग १–० ले विजयी भएको थियो । लगातार तीन खेलमा हार व्यहोरेसँगै अंकविहीन भएर हाइटी विश्वकपबाट बाहिरिन पुगेको छ । ५२ वर्षपछि विश्वकपमा सहभागी हाइटीले दुई गोल दर्ता गरेको छ ।

