June 27, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भेनेजुएला विनाशकारी भूकम्पः मृतकको संख्या एक लाखसम्म पुग्न सक्ने अनुमान

२०८३ असार ११

445

काराकास : दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार आएको शक्तिशाली दोहोरो भूकम्पपछि ठूलो मानवीय तथा भौतिक क्षतिको आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले प्रारम्भिक मूल्याङ्कनमा मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
स्थानीय समयअनुसार बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्र राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ ।
भूकम्पका कारण राजधानी काराकाससहित याराकुय, काराबोबो, अरागुवा, मिरान्डा र ला ग्वाइरा क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् । धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ भने उद्धार टोलीहरू रातभर खोज तथा उद्धारमा खटिएका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेकी छन् । विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ ।

भूकम्पपछि २० भन्दा बढी पराकम्प (आफ्टरशक) महसुस गरिएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने केही क्षेत्रमा विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सुरुआती चरणमा सुनामीको चेतावनी जारी गरिएको भए पनि पछि फिर्ता लिइएको छ ।
यद्यपि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । अहिलेसम्म आधिकारिक मृतक संख्या सार्वजनिक गरिएको छैन । तर अमेरिकी भूगर्भ सर्वेक्षणको ‘पेजर’ प्रणालीले यो विपद्बाट अत्यधिक जनधनको क्षति हुने सम्भावना रहेको जनाएको छ । विशेषज्ञहरूका अनुसार अन्तिम क्षतिको विवरण आउन अझै केही दिन लाग्न सक्छ ।