काठमाडौं : रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटा भिडिओका कारण विवादित बनेकी छिन् ।
सृष्टीले कारको अगाडि झ्यालबाट जीउ बाहिर निकालेर भिडिओ बनाएकी थिइन् । गत फागुन २१ गते (प्रतिनिधिसभा निर्वाचनको दिन) उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने बताइरहेका छन् ।
प्रहरी स्रोतका अनुसार सृष्टिलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने भएको छ । केन्द्रीय प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतका अनुसार उनले गरेको कसुर यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाहीको दायरामा पर्छ । उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने हो ।
सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ । सांसद भट्टराईले उक्त दृश्य कुन ठाउँमा कैद गरेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन । पारिवारिक स्रोतका अनुसार उनी काठमाडौंबाट धनकुटा जाँदाखेरिको हो ।
सम्भावित स्थानको सीसीटीभी फुटेज रिकभर गरेर अनुसन्धान हुनसक्ने ट्राफिक व्यवस्थापन महाशाखाका ती अधिकृतले बताए ।
‘घटनास्थल कहाँ हो भन्ने अनुसन्धान गरेर जहाँ यस्तो गतिविधि भएको हो, त्यहीँको ट्राफिक प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिन्छ’, उनले भने । त्यसरी हुने कारबाहीमा ऐनविपरीतको काम गर्ने सवारी चालक र यात्रुलाई समेत कारबाहीको व्यवस्था छ ।






