काठमाडौं : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
राहदानी खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई मंगलबार नियन्त्रणमा लिइएको आयोग स्रोतले जानकारी दिएका छन् ।
यसअघि आयोगको टोलीले सोमबार साँझ विभागबाट केही कागजात नियन्त्रणमा लिएको थियो । आयोगले विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरूमाथि अहिले सोधपुछ चलिरहेको आयोग स्रोतले जनाएको छ ।
ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धात्मक टेन्डर नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको कुरा उठ्दै आएको थियो ।






