कैलाली : कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ ।
प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो । बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए ।
पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए । साथै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारीलगायत सँग मंगलबार पनि छलफल हुने बताए ।
सरोकारवालाहरूका बीच जिल्ला प्रशासन कार्यालयमा आइतबार दिनभर छलफल भएको थियो भने सोही दिन प्रहरीले १२ जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए ।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत बिक्री गर्दै आएकी थिइन् ।
सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए । उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो । त्यसपछि प्रहरीले टेम्पो धनी महिलासँग सोधपुछ पनि गरेको थियो ।
वनका कर्मचारीले टेम्पो भिरबाट धकेल्नुअघि त्यसमा रहेका सामान भने निकालेका थिए ।
यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए । प्रचार गरिए जसरी टेम्पो भिरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।






