August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

क्यालिफोर्नियामा वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटना,आठ जनाको मृत्यु

२०८३ असार २

335

क्यालिफोर्निया :अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वड्र्स एअर फोर्स बेसबाट उडान भर्ने बित्तिकै अमेरिकी वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ ।
सोमबार स्थानीय समय अनुसार बिहान ११ः२० बजे विमान नियमित परीक्षण उडानमा रहेका बेला उक्त दुर्घटना भएको हो । दुर्घटना यति भयानक थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाँको मुस्लो देखिएको थियो, जुन माइलौँ टाढाबाट समेत स्पष्ट रूपमा देखिन्थ्यो ।
एअर फोर्स बेसका कर्नल जेम्स हेसले दिउँसो आयोजित पत्रकार सम्मेलनमा दुर्घटनालाई ठुलो त्रासदीको रूपमा वर्णन गर्दै आठ जना महान् अमेरिकीहरूलाई गुमाउनुपरेको बताएका छन् । उनले मृतकहरूमा सैन्य अधिकारी, सरकारी नागरिक कर्मचारी र सरकारी ठेकेदारहरू सम्मिलित मिश्रित टोली रहेको जानकारी दिए । प्रारम्भिक अध्ययन अनुसार दुर्घटनापछि कोही पनि जीवित बच्न सक्ने स्थिति नरहेको आधारहरू देखिएका छन् । मृतकका परिवारलाई घटनाबारे जानकारी गराइँदै गरेको र त्यसको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने कर्नल हेसले बताए ।
दुर्घटना पूर्ण रूपमा एड्वड्र्स एअर फोर्स बेसको धावनमार्ग भित्रै सीमित रहेको र बेसले आफ्ना उडान अपरेसनहरू तत्कालका लागि स्थगित गरेको छ । उक्त विमान बेसको राडार आधुनिकीकरण कार्यक्रमलाई सहयोग पुर्याउने कार्यमा संलग्न रहेको र उडान भर्ने बित्तिकै खसेर आगोको डल्लोमा परिणत भएको थियो ।
दुर्घटनाको प्रारम्भिक भिडियो फुटेजहरूको अध्ययनपछि यसलाई नियन्त्रण बाहिरको र कोही पनि जीवित रहन नसक्ने दुर्घटनाको रूपमा वर्गीकरण गरिएको छ । दुर्घटनाको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन र यसका लागि विभिन्न चरणमा अनुसन्धान गरिनेछ । प्रारम्भिक अनुसन्धानका लागि ३० दिन लाग्न सक्ने र दुर्घटनाको गहिरो विश्लेषणसहितको पूर्ण अनुसन्धान सम्पन्न हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा