रौतहट : रौतहटको नेपाल–भारत सीमावर्ती क्षेत्रमा ९० लाख रुपैयाँ भन्दा बढीको अवैध फर्सीको बिउ बरामद भएको छ ।
रौतहट प्रहरीले बिशेष अपरेसन सञ्चालन गदै नेपाल–भारत सीमावर्ती क्षेत्रमा ९० लाख रुपैयाँ भन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ बाडका बंकुल टोल क्षेत्रमा छापा मारेको थियो । सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ठुलो परिमाणमा फर्सीको बिउ फेला परेको हो ।
प्रहरीले ३२२ बोरा फर्सीको बिउ (जम्मा १२ हजार ८८० किलोग्राम) बरामद गरेको जनाएको छ । बरामद बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गौतमले जानकारी दिएका छन् ।
फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।
घटनाका क्रममा ढुंगामुढाबाट तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






