May 29, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

सशस्त्र प्रहरी बल रिजर्भ गणले मनायो २५ औं स्थापना दिवस

२०८३ जेष्ठ १४

435

बारा : सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण, पिलुवा, बाराले आफ्नो २५औं स्थापना दिवस तथा रजत महोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।
रजत महोत्सवका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच विगतदेखि नै समन्वयात्मक सहकार्य हुँदै आएको स्मरण गराउँदै सुरक्षाकर्मीले जनताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रको सुरक्षा सुदृढ बनाउन सीमा सुरक्षा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा स्थानीय नागरिकसँग प्रत्यक्ष सहकार्य गरेर सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै लगेको बताए ।
उनले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी तस्करी तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । “जनताको करबाट सञ्चालन हुने सुरक्षा निकायले नागरिकप्रति उत्तरदायी भएर सेवा गर्नुपर्छ,” उनले भने ।
त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेतले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।
बस्नेतले बारा, पर्सा र रौतहट जिल्लामा बाढी, आगलागी, सडक दुर्घटनालगायत विपद्का समयमा सशस्त्र प्रहरीले निरन्तर उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिए । “सुरक्षा निकाय र स्थानीय सरकारबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ,” उनले भने, “त्यसले मात्र नागरिकलाई प्रभावकारी सेवा दिन सकिन्छ ।”
उनकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न खेल तथा आन्तरिक प्रतियोगितामा उत्कृष्ट हुने सुरक्षाकर्मी, सहिद परिवार तथा सशस्त्र प्रहरीलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, कवाज प्रदर्शन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
वि.सं. २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण हाल मधेश प्रदेशअन्तर्गत बारा, पर्सा र रौतहटका सीमा इकाईहरूमा जनशक्ति तथा बन्दोबस्ती सहयोग गर्ने उद्देश्यले कार्यरत रहेको छ । आवश्यक पर्दा देशभर रिजर्भ फोर्सका रूपमा परिचालन हुँदै आएको उक्त गणले सुरक्षा अपरेसन, विपद् व्यवस्थापन, दंगा नियन्त्रण तथा विशेष सुरक्षा जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । रजत महोत्सव समारोहले सशस्त्र प्रहरी बलको संगठनात्मक इतिहास, योगदान तथा भावी जिम्मेवारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।