May 28, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

छानबिन समितिले लियो पूर्वगृहमन्त्री गुरुङको बयान

फाईल तस्विर ।
२०८३ जेष्ठ १३

690

काठमाडौँ : पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ । बुधबार गुरुङलाई समितिले बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो ।
दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा गुरुङलाई बुधबार बोलाएर प्रारम्भिक बयान सुरु गरिएको समितिका एक जना सदस्यले बताए । भट्टको कम्पनीमा उनको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।
सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’ सुधन गुरुङलाई छानबिन समितिले भन्यो, ‘जुनसुकै बेला बयानमा बोलाउँछौँ’ मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । १५ दिनको समय सीमा तोकिएको समितिले छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ । समितिका एक जना सदस्य भन्छन्, ‘प्रमाण आउने क्रम जारी छ तर, छानबिन अन्तिम चरणमा पुगेको छ ।’
अबको ४ दिनको बिदामा सकभर प्रतिवेदन लेखन सक्ने गरी काम भइरहेको समितिका सदस्यहरू बताउँछन् । एक सदस्य भन्छन्, ‘आज पनि प्रमाण आउने क्रम जारी छ, सकभर बिदामा प्रतिवेदन लेखन टुङ्ग्याउँछौँ ।’
छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।