काठमाडौं : अबदेखि कक्षा–५ सम्म कुनै पनि परीक्षा सञ्चालन नहुने भएको छ । कक्षा–५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने सरकारको निर्णय कार्यन्वयनमा आएको हो ।
हालसम्म कक्षा ५ सम्म त्रैमासिक,वार्षिक परीक्षा सञ्चालन हुँदै आएको थियो । तर,बालेन साह नेतृत्वको सरकारले शासकीय सुधारका लक्ष्यसहित तयार पारेको १०० बुँदे कार्यसूचीमा कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने योजना थियो ।
उनीहरूलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने सरकारले घोषणा गरेको थियो । उक्त निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले यही शैक्षिक सत्र(२०८३)बाटै कक्षा ५ सम्म कुनै पनि परीक्षा नलिन सम्बन्धित निकायमा परिपत्र जारी गरिसकेको छ ।
अबदेखि कक्षा ५ सम्म परीक्षा नहुने मन्त्रालयका विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीले जानकारी दिए ।
यसरी हुनेछ आन्तरिक मूल्यांकन ?
बिद्यार्थीको कक्षागत उपस्थिति, लिखित तथा मौखिक कार्य, परियोजना तथा प्रयोगात्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत अभिलेख, स्व र सहपाठी मूल्यांकन र अभिभावकको प्रतिक्रिया लगायत तरिका तथा साधनहरू प्रयोग गरि विद्यार्थीहरूको नियमित मूल्यांकन गरिने छ ।

