September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भागबन्डा नमिल्दा समर्थन फिर्ताको तयारीपछि संकटमा मधेश सरकार

२०८३ जेष्ठ १०

390

जनकपुरधाम : विश्वासको मत लिएको दुई दिनमै नेकपाले समर्थन फिर्ता लिने तयारी गरेपछि मधेश प्रदेश सरकार संकटमा परेको छ । सरकार जोगाउने प्रयास स्वरूप नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू आकस्मिक छलफलमा जुटेका छन् ।
मन्त्रालय बाँडफाँटको विषयमा असहमति बढ्दै गएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच बनेको नयाँ गठबन्धन धरमराउन थालेको हो । यी तीन दलबीच गत बिहीबार मात्रै नयाँ सत्ता समीकरणको सहमति भएको थियो । तर, गठबन्धन बनेको चार दिनमै नेकपाले सरकारबाट बाहिरिने तयारी गरेपछि राजनीतिक तरंग बढेको छ ।
मुख्यमन्त्री कृष्ण कुमार यादवको सरकारी निवासमा अहिले एमाले संसदीय दलका नेता सरोज कुमार यादव, कांग्रेस संसदीय दलका नेता तथा अन्य शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
स्रोतका अनुसार अर्थ मन्त्रालय नेकपालाई दिने प्रारम्भिक सहमति भए पनि मुख्यमन्त्री यादवले उक्त मन्त्रालय एमालेलाई बुझाएपछि नेकपा असन्तुष्ट बनेको हो । नेकपाबाट मन्त्री रहेका जवाहरलाल कुशवाहाको निवासमा बसेको छलफलमा मुख्यमन्त्री र एमाले मिलेर धोका दिएको निष्कर्ष निकाल्दै सरकारबाट बाहिरिने तयारी गरिएको एक नेताले बताए । मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत पाउँदा एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसदसहित ६२ जनाको समर्थन पाएका थिए । नेकपा सरकारबाट बाहिरिए सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ ।