जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने भएको छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले बिहीबार जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले पनि सरकारमा सहभागी भएको छ । एमालेका तर्फबाट मोहम्मद समिमलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताएका छन् ।
हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकारलाई बहुमतका लागि कम्तीमा ५२ जना सदस्यको समर्थन आवश्यक पर्छ ।
नयाँ सत्ता समीकरणअनुसार सरकारलाई नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४ र नेपाल कम्युनिस्ट पार्टीका १५ जना गरी कुल ६१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।
