May 22, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

निरन्तर ‘तातो लहर’ चल्ने मौसमविद्को अनुमान

फाईल तस्विर ।
२०८३ जेष्ठ ७

1.2K

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर गर्मी लगातार बढिरहेको छ । केही स्थानमा निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रममा वृद्धि भइरहेको बेला देशका केही भूभागमा हल्का वर्षाको सम्भावना समेत देखिएको छ ।
समाचार स्रोत अनुसार वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा हाल पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक रहेको जानकारी दिएकी छन् ।
उनका अनुसार अब बिस्तारै देशको मध्य भागमा वर्षा रोकिनेछ भने अत्यधिक गर्मी र तापक्रम अझै बढ्नेछ । विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागहरूमा ‘तातो दिन’ को स्थिति रहेकाले आवश्यक पूर्वतयारीमा रहन उनले सुझाव दिएकी छन् ।
हालको मौसमी अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताउँदै मौसमविद् पोखरेलले भनिन्, “अझै दुई–तीन दिन लगातार यस्तै अवस्था देखिएमा बेलुकासम्म ‘तातो लहर’ (लू) चलेको हो भनेर प्राविधिक रूपमा पुष्टि गर्नुपर्ने हुन्छ ।”
यस वर्ष देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ । यद्यपि, कम वर्षा हुनुको अर्थ बाढी–पहिरोको जोखिम नहुनु भने नभएको उनले प्रष्ट पारिन्

“लामो समय खडेरी पर्ने र एकैचोटि भारी वर्षा हुने मौसमको बदलिँदो प्रवृत्तिका कारण बाढी र पहिरोको जोखिम उत्तिकै रहन्छ, जसका लागि पूर्वतयारी अनिवार्य छ,” पोखरेलले भनिन् । गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिमको विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएम) बाट समेत जानकारी आएको तर समग्र वर्षा भने सरदरभन्दा कम नै देखिएको उनले उल्लेख गरिन् ।
चट्याङको पूर्वानुमानका लागि स्याटेलाइट (उपग्रह) र मौसमी प्रणालीको गमनपथलाई आधार मानिने गरिन्छ भने बाढीको सटीक आँकलनका लागि नयाँ ‘फ्लड फोरकास्टिङ मोडल’ (बाढी पूर्वानुमान प्रारूप) प्रयोग भइरहेको छ ।