काठमाण्डौं : क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो विरूद्ध अमेरिकामा पक्राउ पुर्जी जारी भएको छ ।
सन् १९९६ को घटनालाई लिएर अमेरिकाले क्यास्ट्रोमाथि हत्या अभियोगमा मुद्दा दर्ता गरी उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । सन् १९९६ मा क्युबाले आफ्नो हवाइ क्षेत्रमा आएको भनेर एउटा सानो विमान खसालेको थियो ।
त्यो घटनामा चार जनाको मृत्यु भएको थियो । त्यतिबेला कार्लोस कोस्टा, अर्मान्डो अलेजान्द्रे जुनियर, मारियो दे ला पेना र पाब्लो मोरल्स नाम गरेका व्यक्तिहरू मारिएका थिए । घटनामा मारिएकाहरू क्युबाबाट भागेर अमेरिकाको शरणमा बसेका थिए ।
मायामीमा बस्ने उनीहरू ब्रदर्स टु रेस्क्यू नाम गरेको समूह नै बनाएर क्युबाबाट भागेर आउनेहरूलाई सहयोग गर्थे । क्युबाले बारम्बार चेतावनी दिए पनि विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका कारण लडाकू विमानले सो विमान खसालेको भनेको थियो ।
त्यतिबेलाको घटनालाई लिएर अमेरिकाले अहिले क्यास्ट्रोमाथि मुद्दा दर्ता गरेको हो । सन् १९९६ को घटनाका बेला क्यास्ट्रो रक्षा मन्त्री थिए । बुधबार सार्वजनिक गरिएको अभियोगपत्रअनुसार ९४ वर्षीय क्यास्ट्रोमाथि अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्रको एउटा मुद्दा, चारवटा हत्या मुद्दा तथा दुईवटा विमान विनाशसम्बन्धी अभियोग लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

