May 21, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि

फाईल तस्विर ।
२०८३ जेष्ठ ७

160

बारा : नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा पेट्रोलको आयात दुई गुणाले वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष पेट्रोलको आयात दोब्बर बढेको हो । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेसँगै परिमाण पनि बढेको हो ।
गत आर्थिक वर्ष १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्ष ४ लाख किलोलिटर पेट्रोल आयात भएको निगमको प्रादेशिक डिपो अम्लेखगञ्जले जनाएको छ ।
डिजेलमा भने सामान्यमात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल आयात भएकोमा गत आर्थिक वर्ष ९ लाख किलोलिटर आयात भएको निगमले जनाएको छ ।
गत वर्ष फागुनदेखि पाइपलाइनबाट पेट्रोल आयात भइरहेको छ । डिजेल भने २०७६ सालदेखि नै पाइपलाइनबाट आयात भइरहेको छ ।
‘यसअघि ट्याङ्करबाट स्थानीय बजारका लागि मात्रै पेट्रोल आयात हुन्थ्यो भने अहिले देशभरका ठुला सहरहरूको लागि यहीँबाट लोड भएर ढुवानी हुन्छ,’ अम्लेखगञ्ज डिपो प्रमुख अशोक साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरण राम्रो अवस्थामा छ ।’ अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्ज लगायत देशभरका २० जिल्लाका सरकारी तथा निजी पम्पहरूमा बिक्री वितरण हुने गर्दछ ।
प्रादेशिक डिपो प्रमुख साहले सरकारी पम्पहरूका लागि दैनिक पेट्रोल १२५ देखि १५० ट्याङ्कर र डिजेल २ सयदेखि २५० ट्याङ्कर लोड हुने गरेको बताए । निजी पम्पहरूका लागि भने दैनिक १५० ट्याङ्कर पेट्रोलियम पदार्थ लोड हुने गर्दछ ।
अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।
अम्लेखगञ्ज डिपोमा पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनका लागि पुग्ने भण्डारण क्षमता रहेको निगमले जनाएको छ ।
‘हाम्रो सबैभन्दा धेरै बिक्री थानकोट डिपोमा हुन्छ,’ प्रमुख साहले भने, ‘पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता छ ।’
निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा आयात केही कम गर्ने गर्दछ ।
अम्लेखगञ्जमा भारतको मोतिहारीबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । अम्लेखगञ्जबाट मोतिहारी ७० किलोमिटर दुरीमा पर्छ । मोतिहारीबाट तेल छोडेको ४ दिनमा अम्लेखगञ्ज डिपोमा आइपुग्छ ।

यसअघि ट्याङ्करमार्फत भारतको बरौनीबाट पेट्रोल आयात हुँदै आएको थियो । हाल ती ट्याङ्करलाई आन्तरिक ढुवानीमा व्यवस्थापन गरेर पाइपलाइन पूर्ण रूपमा सञ्चालन गरिएको छ ।
‘बजारमा सहज तरिकाले तेल पठाएका छौँ । अभाव हुने अवस्था छैन । हामीसँग पर्याप्त भण्डारण छ,’ प्रादेशिक डिपो प्रमुख साहले भने, ‘गत वर्षको तुलनामा तेलको आयात र बिक्री वितरणको अवस्था राम्रो छ ।’
पाइपलाइनबाट इन्धन आयात हुन थालेपछि तेलको अवैध चोरी, तस्करी, सडक दुर्घटना, वातावरण प्रदूषण कम भएको छ भने अतिरिक्त खर्चसमेत कटौती भएको निगमले जनाएको छ ।
ढुवानी खर्चमा समेत प्रतिलिटर ३ रुपैयाँ बचत हुँदा राज्यको वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी भाडा जोगिएको छ । (रातोपाटीबाट)