जनकपुरधाम : सत्तारुढ नेपाली कांग्रेसबाट नै फ्लोर क्रसको अवस्था देखेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत शुक्रबार नलिइ अब यही जेठ ८ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार विहान ११ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभाको कार्यतालिका तय गरिएको थियो । तर आफ्नै पार्टी भित्रबाट फ्लोर क्रस हुने सम्भावना देखेपछि मुख्यमन्त्री यादव सहमति जुटाउन छलफलमा जुटेका थिए ।
जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत एक महिनाभित्रमा लिनुपर्ने व्यवस्था छ । तर शुक्रबार लिने भनिएको विश्वासको मत हाउसको कार्यसूचीमा फेरबदल भएको पाइएपछि सत्ता पक्ष र विपक्षका सांसदहरुले समेत असन्तुष्टि पोखे ।
मुख्यमन्त्री यादवले आफ्नै पार्टीभित्रबाट विश्वासको मत नपाउने थाहा पाएपछि उनले पटक–पटक आफ्नै दलका प्रदेश सांसद, सत्तागठबन्धनका सांसद, विपक्षी दलका नेताहरुसंग र अन्तमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सहमति पश्चात जेठ ८ गते विश्वासको मत लिने र शुक्रबार सातौँ अधिवेशनको प्रथम बैठक भएकाले शुभकामना मन्तव्यपछि हाउस स्थगन गर्ने निर्णय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका करिब ६ जना प्रदेश सांसदले असन्तुष्टि जनाएपछि विहान ११ बजे बस्ने भनिएको बैठक करिब चार घण्टापछि बसेको थियो । यसअघि जसपा नेपालले पनि मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने भनेपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारमाथि संकट मडारिन पुग्यो ।
हाउस सञ्चालन अघिसम्म सबै दलका नेताहरुसंग बसेर मुख्यमन्त्री यादवले यही जेठ ८ गते बस्ने गरी सदन स्थगनका लागि लविंग थालेका थिए । यसक्रममा जसपा नेपाल, नेपाली कांग्रेसभित्रको असन्तुष्टि साम्य भएपछि मुख्यमन्त्री यादवका लागि स्थिति सहज बने पनि शुक्रबार नै विश्वासको मत लिने माहोल भने बनेन ।
जसपा नेपालका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफूहरु वर्तमान सरकारकै पक्षमा रहेको बताए । उनले जसपा नेपालको समेत समर्थन रहेकाले तत्काल सरकार फेरबदलको खेलमा आफूहरु नरहेको प्रस्ट्याए । मुख्यमन्त्री यादवले गुपचुप रुपमा हाउस छल्ने गरी अन्तिम समयमा कार्यसूची परिवर्तन गरिएको विषयलाई लिएर जनमत पार्टीले कडा आपत्ति जनाएको छ ।

