भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ ।
नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ । प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कसिट प्राप्त गर्न सक्नेछन् ।
एसएमएस र आईभीआर सेवा
एसएमएस र फोन कलमार्फत नतिजा थाहा पाउन चाहनेहरूका लागि विभिन्न सेवा प्रदायकहरू तोकिएका छन् । परीक्षार्थीले नेपाल टेलिकमको १६००मा डायल गरेर वा एसएमएस पठाएर नतिजा बुझ्न सक्नेछन् । त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी कार्यालयले दिएको छ ।
वेबसाइटबाट मार्कसिट हेर्ने तरिका
विस्तृत विवरण र मार्कसिट डाउनलोड गर्नका लागि सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिइएको छ। परीक्षार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटहरू www.see.gov.np र www.neb.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन् ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका पोर्टलहरूबाट पनि नतिजा उपलब्ध हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले भ्रममा नपर्न र केवल आधिकारिक माध्यमहरूबाट मात्र नतिजा रुजु गर्न सबैमा अनुरोध गरेको छ ।






