August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

विजय थलापतिले लिए मुख्यमन्त्रीको शपथ

२०८३ बैशाख २७

415

काठमाण्डौं : तमिलगा भेट्टी कझगम (टीभीके)का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् ।
यससँगै राज्यमा करिब ६ दशकदेखि जारी दुई प्रमुख दल डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने क्रम समाप्त भएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शनिबार २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकको समर्थन प्राप्त गरेपछि विजयलाई सरकार गठनका लागि बाटो खुलेको थियो ।
विजयले बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् । विजयले कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले विजयलाई १३ मेभित्र वा त्यसअघि नै विधानसभाबाट विश्वासको मत लिन निर्देशन पनि दिएका छन् । मन्त्री पदको शपथ लिने नौ जनामा ‘बुसी’ एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी. वेङ्कटरमणन, सीटीआर निर्मलकुमार, ए. राजमोहन, टी.के. प्रभु र एस. कीर्तना रहेका छन् । मन्त्रिपरिषद्मा एक महिला र अनुसूचित जाति समुदायबाट एक प्रतिनिधि समावेश भएका छन् ।

पेरम्बूर र तिरुची इस्ट दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित विजयलाई समेत जोड्दा चेन्नईबाट कूल पाँच मन्त्री बनेका छन् । पश्चिमी क्षेत्रबाट दुई जना र दक्षिणी क्षेत्रबाट तीन जनालाई मन्त्रिपरिषद्मा प्रतिनिधित्व दिइएको छ ।
पछिल्ला केही दिनदेखि जारी राजनीतिक अन्योल शनिबार साँझ अन्त्य भएको थियो, जब भीसीके र आईयूएमएलले पनि समर्थन जनाएपछि टीभीकेको संख्या १२० पुगेको थियो ।
त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपालसँग भेट गरी कांग्रेस, सीपीआई, सीपीआई (एम), भीसीके र आईयूएमएलको समर्थन पत्र बुझाएका थिए ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको थियो । तर पार्टी अध्यक्ष विजय दुई वटा निर्वाचन क्षेत्रबाट विजयी भएकाले एउटा सिट त्याग्नुपर्ने हुँदा पार्टीको वास्तविक संख्या १०७ रहनेछ ।