September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

तमिलनाडुको मुख्यमन्त्रीमा विजय मनोनीत, सपथ आजै

२०८३ बैशाख २७

440

काठमाडौँ : तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजयलाई मुख्यमन्त्रीमा मनोनीत गरेका छन् ।
विजयको सपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुनेछ र उनले मे १३ भित्र विधानसभामा विश्वासको मत पेश गर्नुपर्नेछ । तमिलनाडु लोक भवनले यसको पुष्टि गरेको छ ।
तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी अर्थात् १ सय २० जना विधायकको समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए ।
राज्यपालसँगको भेटका क्रममा विजयले भीसीके र आइयूएमएल पार्टीहरूको समर्थनपत्र पेश गरेका थिए । उनले बहुमतका आधारमा सरकार गठनको दाबी गरेका थिए ।
यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आइयूएमएल)ले पनि टिवीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
भीसीके नेता थोल थिरुमावलवनले टिवीके नेता अधव अर्जुनलाई पार्टीको समर्थनपत्र दिएका थिए । त्यस्तै आइयूएमएलले पनि टिभिकेलाई समर्थनपत्र दिएको थियो ।

भीसीकेबाट समर्थनपत्र पाएपछि अधव अर्जुनले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस, वामपन्थी दलहरू र भीसीकेलाई धन्यवाद दिएका थिए ।
उनले लोकतन्त्रको रक्षा गरिने र जनसमर्थनका आधारमा विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने बताएका थिए । शुक्रबार टिभिके प्रमुख विजयले तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरेर सरकार गठनको दाबी पेश गरेका थिए । राज्यपालसँग विजयको यो तेस्रो भेट थियो ।
राज्यपालसँगको भेटपछि टिवीके नेता विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का कार्यालयहरूको भ्रमण गरेका थिए र पार्टी नेताहरूसँग भेटवार्ता गरेका थिए ।
२ सय ३४ सिट रहेको तमिलनाडु विधानसभा निर्वाचनमा टिवीकेले १ सय ८ सिट जितेको छ । दुई सिटबाट विजयी भएका विजयले एउटा सिटबाट राजीनामा दिनुपर्ने भएकाले टिवीकेको संख्या १ सय ७ मा झर्नेछ ।
त्यसपछि सदनको संख्या २ सय ३३ मा झर्ने भएकाले बहुमतका लागि १ सय १७ सदस्यको समर्थन आवश्यक पर्नेछ ।
कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आइयूएमएलले दुई–दुई सिट जितेका छन् । यसरी अहिले टिभिकेसँग १ सय २१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो ।