काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध चाँडै समाप्त हुन सक्ने संकेत गरेका छन् ।
रुसको ‘विजय दिवस’ परेड मनाएपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, “मलाई लाग्छ कि यो विषय अब अन्त्यतिर आउँदै छ ।”
युक्रेनलाई पश्चिमा देशहरूले दिइरहेको सहयोगले सीमा नाघेको हो कि भन्ने प्रश्नको जवाफमा उनले यस्तो टिप्पणी गरेका हुन् । “उनीहरूले रुससँगको टकराव बढाउन सुरु गरे, जुन आजसम्म जारी छ । मलाई लाग्छ यो अन्त्यतिर जाँदैछ, तर यो अझै पनि गम्भीर विषय हो,” पुटिनले भने ।
रुस र युक्रेनबीच तीनदिने युद्धविराम चलिरहेको बेला पुटिनको यो टिप्पणी आएको हो । दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघले नाजी जर्मनीलाई पराजित गरेको सम्झनामा रुसको विजय दिवस मनाइन्छ । शनिबारको परेडमा रुसका नजिकका सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी थिए । झन्डै दुई दशकमा पहिलोपटक कुनै पनि सैन्य हतियार प्रदर्शन गरिएको थिएन ।
रुस र युक्रेनबीच तीनदिने युद्धविराम भएको छ । यो युद्धविरामको घोषणा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि गरेका थिए ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार उपयुक्त समय आएपछि रुस र युक्रेनसँग छुट्टाछुट्टै वार्ता गर्न युरोपेली संघ तयार रहेको बताएका थिए ।
पत्रकार सम्मेलनमा पुटिनलाई युरोपेली संघले भनेको वार्ताका लागि उनको रोजाइका मध्यस्थकर्ताको नाम सोधिएको थियो । उनले जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडरको नाम लिए ।
श्रोडर पुटिनका सबैभन्दा नजिकका पश्चिमा सहयोगी तथा लामो समयदेखिका व्यक्तिगत मित्र हुन् । तर, जर्मनीमा उनको कडा आलोचना हुने गरेको छ ।
पुटिनले युरोपेली संघमाथि द्वन्द्व बढाउन खोजेको आरोप पनि लगाए । युरोपेली संघलाई चेतावनी दिँदै उनले भने, “यो खेल महँगो साबित हुन सक्छ ।” युक्रेनले युरोपबाट अझै पनि ठूलो मात्रामा सहयोग, विशेष गरी उपकरण र प्रविधि प्राप्त गरिरहेको छ ।
यो हप्ताको अमेरिकी नेतृत्वको शान्ति सम्झौताको हिस्साका रूपमा दुवै पक्ष ठूलो संख्यामा कैदीहरूको आदानप्रदान गर्न सहमत भएका थिए । तर पुटिनले यस विषयमा रुसले युक्रेनबाट कुनै प्रतिक्रिया नपाएको बताएका छन् ।

