बारा : बाराको निजगढस्थित एक होटलको कोठामा एक महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजे निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा एक महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो ।
उपचारका लागि सामुदायिक अस्पताल निजगढ लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतक महिला निजगढ नगरपालिका–१२ की करिब २५ वर्षीया सीता थिङ रहेको खुलेको छ ।
उनीसँग होटलमा बसेका अन्य दुई जना भने घटनापछि फरार भएका थिए । घटनामा संलग्न रहेको आशंकामा बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले प्राविधिक विश्लेषण तथा खोजतलासका क्रममा सुनिल बोसजनलाई टाङ्गिया बस्तीस्थित जंगल क्षेत्रबाट राति १ बजे र महेश माझीलाई निजगढ नगरपालिका–७ माझीटोलबाट राति ४ बजे नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






