काठमाण्डौं : भन्न पो भा’छैन, कसलाई था छैन ? प्रधानन्यायाधीशमा चौथो वरियताका मनोज शर्मालाई सिफारिस गर्ने विषयमा प्रधानमन्त्री बालेनले रविलाई एक शब्द पनि सोधेनन् । रवि पनि चासो देखाएर फलानो भन्दै कसैको नाममा अग्रसर भएनन् ।
प्रधानन्यायाधीश जस्तो पदमा कसैलाई लैजानुभन्दा अगाडी रवि चाहन्थे पर्याप्त छलफल होस् । तर, पछिल्ला कतिपय निर्णयहरूमा बालेनले एकलौटी गर्न थालेपछि रवि पनि सरकार सञ्चालनको विषयमा निर्णायक छलफल गर्न छाडेका छन् । रविले आफूनिकटका सँग भन्न थालेका छन् मैले भनेर हुने भए पो ?
न्यायालयमाथि रविको भयङ्कर चासो थियो– कारण हो, आफ्नो मुद्दा । बालेनले सही प्रधानन्यायाधीश चुनेर आफूलाई क्लिन चीट पाउन सहयोग गर्लान् भन्ने अपेक्षा पनि रविको थियो । तर, बालेनलाई रविको चासो हुन छाडेको छ । रविले जति त्याग गरेको छु भनेपनि आन्तरिक शक्तिसन्तुलन बालेनको पक्षमा देखिएपछि आँखा चिम्लेर कालकूट विष निल्नुको विकल्प देखिएन ।
अर्को कुरा– रास्वपाका अधिकांश रवि पक्षीय सांसदहरू क्यामेरा देखेपछि तर्सिन थालेका छन् । उनीहरूलाई केही नबोल्ने आदेश माथिबाट नै छ । अनि, विगतमा आफूले गरेका चटकबारे प्रश्न सोधिने भयले उनीहरू जनताको मुद्दा पनि सार्वजनिक रूपमा उठाउन नसक्ने अवस्थामा देखिन्छन् ।
रास्वपाभित्रको यो शान्ति मू’र्दा शान्ति जस्तै देखिएको छ । चाहे सुकुम्बासी बस्ती खालि गर्दा होस्, चाहे अन्य निर्णय होस्, सबैको हकमा कहीं कतैबाट प्रतिक्रिया नआउने, रवि मिडियामा बोलेपछि त्यसको खण्डन गर्दै बालेनले फेसबुक स्ट्याटसमार्फत आफ्नो बचाउ गर्ने कामबाहेक बाहिर केही देखिएको छैन ।
अलिकति हाँसो र मुस्कानसहितको सेवा भने सस्मित पोखरेलले दिने गरेका छन् । जे सोधेपनि हाँस्छन् । जवाफमा भने उही अस्पष्टता र उल्झन । बिचरा उनलाई पनि त धेरै कुराहरू थाहा छैन, सिक्दैछन् । दिनदिनै क्याबिनेट बसेको जस्तो पनि, आधा निर्णय मात्र सार्वजनिक । अस्ति अध्यादेश ल्याउने निर्णय गरेको रहेछ क्याबिनेटले, त्यसदिन सार्वजनिक भएन । भोलिपल्ट राष्ट्रपतिकहाँ गएपछि मात्र सार्वजनिक भएको थियो ।
अध्यादेशबारे अलि–अलि सुइको पाएका रविले हानेको फोन बालेनले उठाएनन् । यताउता सोधी खोजी गर्न खोज्दा कसैले केही भन्दैन । स्वर्णिम वाग्लेले समेत अध्यादेश केके आउँदैछ भनेर रविलाई भन्न चाहेनन् ।
यो तुफान आउनुअघिको सन्नाटा जस्तो देखिन्छ । अनि, यसपाली तुफान बाहिरबाट होइन, रास्वपाभित्रैबाट आउनेछ । भारतका विदेशसचिव मिश्रीको नेपाल भ्रमण स्थगित हुनुका पनि धेरै कारणहरू छन् ।






