काठमाण्डौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा रिहा भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ श्रीमतीको जिम्मा लगाएर गोल्छालाई रिहा गरेको हो ।
मंगलबार नै सीआईबीले बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंसँग म्याद मागेको थियो ।
अदालतले म्याद दिन अस्वीकार गरेपछि गोल्छा रिहा भएका हुन् ।
यसअघि धितोपत्रसम्बन्धी कसुरमा सोमबार सर्वोच्च अदालतले धरौटी माग गर्न र नदिएमा मात्र हिरासतमा राख्न अनुसन्धान अधिकारीका नाममा आदेश गरेको थियो ।
त्यसपछि मंगलबार सीआईबीले बिमासम्बन्धी कसुरमा म्याद थपका लागि गोल्छालाई जिल्ला अदालतमा पेश गरेको थियो ।
बोलाएका बेला हाजिर हुने गरी गोल्छालाई श्रीमतीको जिम्मा लगाइएको हो ।
उनीमाथि अनुसन्धान भने जारी रहने सीआईबी स्रोतले जनाएको छ ।

