काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नैपर्ने कारणसहितको लिखित धारणा पठाउँदै रोक्न नमिल्ने जिकिर गरेका छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेनले दुईपेजको लिखित टिप्पणी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारनै पठाएका छन् ।
प्रधानमन्त्रीको लिखित टिप्पणीपछि राष्ट्रपति उक्त अध्यादेश जारी गर्ने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । “सम्भवतः आजै अध्यादेश जारी हुन्छ,” स्रोतले भन्यो, “राष्ट्रपतिले पुनर्विचारका लागि एकपल्ट फिर्ता पठाउने हो । फेरि आएपछि रोक्ने ठाउँ छैन ।”
कार्यकारीबाट दोहो¥याएर आएपछि राष्ट्रपतिले ‘होल्ड’ गर्नु संवैधानिक कर्तव्य र नैतिकता विपरीत हुने भन्दै जारी गर्ने निष्कर्षमा राष्ट्रपति पुगेको स्रोतले जानकारी दियो । संविधान तथा कानुनविद्हरुले पनि पुनः आएको अध्यादेश रोक्न नमिल्ने राय यसअघि नै राष्ट्रपतिलाई दिइसकेका छन् । (बाह्रखरीबाट)






