रौतहट : रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीय एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझी पक्राउ परेका हुन् ।
स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई ‘यो बोक्सी हो, यसले मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए । कुटपिटका क्रममा पीडित महिलालाई जवरजस्ती मलमुत्र समेत खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीलगत्तै खटिएको प्रहरी टोलीले घटनामा संलग्नमध्येका फुदेनी माझीका छोरा शंकर माझीलाई तत्कालै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । पक्राउ परेका माझीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






