काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कोही पनि नागरिकलाई घरबारविहीन नबनाउने दाबी गरेका छन् ।
आइतबार साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताए । उनले बस्ती हटाउने क्रममा सुकुमवासीमाथि अन्याय भएको भन्ने गुनासोबारे बोल्दै विशेषगरी खोला किनारका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व भएको तर्क गरे ।
उनले स्थानीय तहहरूलाई रास्वपाको नाम जोडेर भूमिहीनहरूलाई त्रासमा नपार्न समेत आग्रह गरे। असुरक्षित ठाउँमा रहेकाहरूलाई मात्र स्थानान्तरण गर्ने र वास्तविक भूमिहीनहरूको हकमा शक्तिशाली आयोगमार्फत स्थायी समाधान खोजिने उनले प्रष्ट पारे । हालै एक सुकुम्बासीले आत्महत्या गरेको विषयमा टिप्पणी गर्दै उनले यसलाई संवेदनशील र अनुसन्धानको विषय भएको बताए ।






