काठमाडौं : बागमती नदी किनारका संरचना हटाउने क्रममा हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन् ।
सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १ हजार ८१६ परिवार (७७८९ जना) सरकारको सम्पर्कमा आएका हुन् ।
सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ । यसैगरी दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् ।
सरकारले व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छ ।






