काठमाडौँ : नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसममा बदली भई वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा अहिले साधारणतया बादल लागेको छ ।
विशेषगरी कोशी प्रदेशका केही स्थानहरूमा र मधेश तथा बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । वर्षा गराउने यो मौसमी प्रणाली अहिले पूर्वी दिशातिर सर्ने क्रममा रहेको छ ।
महाशाखाका अनुसार चट्याङसहितको वर्षा गराउने बादल कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ लगायतका पूर्वी भू–भागतर्फ अघि बढिरहेको छ । ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्। पहाडी भू–भागमा वर्षासँगै चट्याङको जोखिम हुने भएकाले आवश्यक पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

