रौतहट : रौतहट जिल्लाको गौर–गंगापिपरा सडक खण्डमा निर्माण गरिएको कालोपत्रे सडक ६ महिना नपुग्दै चर्किन थालेपछि पुनः मर्मत कार्य सुरु गरिएको छ ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका कारण निर्माण भएको सडक यति छिटो बिग्रिएपछि कार्यालयको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको छ ।
वर्षौंदेखि ग्राभेल सडकबाट सास्ती खेप्दै आएका स्थानीयका लागि १२ किलोमिटर सडक कालोपत्रे गर्ने भन्दै नेपाल सरकारले २०७९ सालमा ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्का साह निर्माण सेवाले सकार गरेको थियो । २०८२ साल साउनसम्म निर्माण सम्पन्न भएको सडक झाझ पुलदेखि पचरुखी चोकसम्मका विभिन्न स्थानमा चर्किएपछि अहिले धमाधम काटेर कालोपत्रे उप्काउने काम जारी रहेको छ ।
स्थानीयका अनुसार कतिपय स्थानमा पुरानै पिचमाथि अलकतरा हालेर कालोपत्रे गरिएको थियो, जसका कारण प्रारम्भीक बेस कमजोर रहँदा सडक चाँडै चर्किएको हो । निर्माणकै क्रममा गुणस्तरमा लापरवाही भएको आरोप उनीहरूले लगाए ।
उक्त सडक खण्डमा यसअघि पनि पटक–पटक गम्भीर दुर्घटना भइसकेका छन्, तर सम्बन्धित निकायले सुरक्षाका आधारभूत उपाय समेत अवलम्बन नगरेको भन्दै स्थानीयहरु आक्रोश पोखेका छन् ।
यता डिभिजन सडक कार्यालय चन्द्रपुर रौतहटका प्रमुख डिई अरुणकुमार लाल कर्णले भने सडक अझै निर्माणकै चरणमा रहेको र बाढीग्रस्त क्षेत्र भएको हुँदा ओभरफ्लो भएर पानी बग्ने अवस्थामा कतिपय स्थानमा चर्किएको दाबी गरे । उनका अनुसार केही स्थानमा पर्याप्त कम्पेक्सन नभएकोमा समस्या देखिएको प्राविधिक निष्कर्ष निकाल्दै आफू चोखिने कुरा गरे ।
जिल्लामा धेरै स्थानमा सडक निर्माण तथा मर्मत भइरहेका छ्न तर, दुईतर्फी देखिने गरी चेतावनी बोर्ड राख्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउने प्रमुख कर्णले बताए । सरकारी रकम खर्च गरेर निर्माण गरिएको सडक छोटो समयमै बिग्रिनु र त्यसपछि पुनः मर्मतमा लाग्नुपर्ने अवस्थाका बारेमा बोलेनन् । सरकारी निकायको लापरवाही र निर्माण कम्पनीको कमजोरी प्रष्ट देखिएको भन्दै स्थानीयले छानबिन गरेर जिम्मेवार पक्षलाई कारवाहीको दायरामा ल्याउन जोडदार रुपमा माग उठाएका छन् ।

