April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

डोनाल्ड ट्रम्पले सुरु गरे प्रशासनभित्र ‘सफाई’ अभियान

२०८२ चैत्र २१

65

काठमाडौं : डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारमा इरानसँगको युद्ध र बढ्दो आन्तरिक राजनीतिक दबाबका बीच ठूलो हलचल देखिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले आफ्नो प्रशासनभित्र व्यापक ‘सफाई’ अभियान सुरु गरेका छन् ।
इरानसँगको तनाव चर्किंदै जाँदा ट्रम्पले आफ्नै विश्वासपात्र मानिएका उच्च अधिकारीहरूलाई समेत पदमुक्त गर्न थालेका छन् । द एटलान्टिकका अनुसार अबको निशानामा काश पटेल र तुलसी गबार्ड पर्न सक्ने संकेत गरिएको छ ।
रक्षा मन्त्री पीट हेगसेथले ¥यान्डी जर्जलाई समयभन्दा एक वर्षअघि नै अनिवार्य अवकाश लिन आदेश दिएका छन् । उनको स्थानमा क्रिस्टोफर ला नेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
महान्याधीवक्ता प्याम बन्डीलाई पनि पदबाट हटाइएको छ । उनलाई विशेषगरी ‘एपस्टाइन फाइल्स’ सम्बन्धी मुद्दा प्रभावकारी रूपमा नसुल्झाएको र महत्वपूर्ण तथ्य सार्वजनिक नगरेको आरोप लागेको छ ।
ट्रम्पका कट्टर समर्थक मानिने काश पटेलमाथि सरकारी स्रोत दुरुपयोगको आरोप लागेको छ । उनले व्यक्तिगत काम तथा खेल हेर्नका लागि एफबीआईको जेट प्रयोग गरेको र आफ्नी साथी एलेक्सिस विल्किन्सलाई नियमविपरीत सुरक्षा उपलब्ध गराएको आरोप छ । साथै, उनले ट्रम्पविरुद्ध अनुसन्धान गर्ने वा असहमत हुने एफबीआई एजेन्टहरूलाई बर्खास्त गरेको आरोप लगाइएको छ ।
राष्ट्रिय गुप्तचर निर्देशक कार्यालय प्रमुख तुलसी गबार्डको पद पनि जोखिममा रहेको बताइएको छ । गबार्डले इरान युद्धको विरोध गर्दै राजीनामा दिएका आफ्ना पूर्वडेपुटी जो केन्टको बचाउ गरेकी थिइन् ।
ट्रम्पले इरानले परमाणु हतियारका लागि युरेनियम समृद्धि गरिरहेको दाबी गरे पनि गबार्डले सिनेटमा इरानले त्यस्तो गतिविधि नगरेको बयान दिएकी थिइन् । यस विषयमा फरक धारणा राखेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरिसकेका छन् ।