रौतहट : भूमि सुधार तथा मालपोत कार्यालय गौर रौतहटबाट चार जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने चारजना बिचौलियालाइ रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीलाई विभिन्न समयमा बाहना पारेर ठगी गर्दै आएका राम नरेश,सिकित नारायण ,संजय कुमार र बब्लु प्रसाद बिचौलियालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले जानकारी दिएका छन् ।
उहाँले जग्गा किनबेच तथा पास गराउन कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै प्रलोभन देखाएर रकम असुल्ने कार्यमा संलग्न रहेका ४ जना बिचौलियाहरू नियन्त्रणमा लिइएको बताए।
लामो समयदेखि मालपोत कार्यालय वरिपरि सकृय रहेका यी व्यक्तिहरूले सर्वसाधारणलाई दुःख दिँदै आएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको बताइएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा रहेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।






