रौतहट : नेपाल विद्युत प्राधिकरण रौतहटले लामो समयदेखि विद्युत महसुल नतिर्ने चार नगरपालिकाको लाइन काटेको छ ।
गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार महसुल नबुझाउने रौतहटका ईशनाथ, राजदेवी, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको हो । पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि प्राधिकरण बाध्य भएर ‘एक्सन’ मा उत्रिएको हो ।
बक्यौता असुली अभियान अन्तर्गत प्राधिकरणको गौर वितरण केन्द्रले सरकारी निकायबाटै लाइन काट्न सुरु गरेपछि ५ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको प्रमुख यादवले बताए ।
केन्द्रले गत साउन १ देखि चैत १६ गतेसम्म महसुल नतिर्ने २ हजार ४५ जना ग्राहकको लाइन काटेको थियो । जसबाट ९ करोड ५५ लाख ८३ हजार ३९६ रुपैयाँ असुल गर्ने लक्ष्य राखिएकोमा हालसम्म १ हजार ७७२ ग्राहकबाट ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ उठिसकेको छ ।
लाइन पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरवापत प्राधिकरणले थप १५ लाख ४९ हजार ६३५ रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ‘कालोसूची’ मा परेका ६० ग्राहकबाट २४ लाख ४९ हजार ६३५ र विद्युत चुहावट गर्ने १२० जनाबाट १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना समेत असुल भएको प्रमुख यादवले जानकारी दिए । लाइन काटिएपछि ईशनाथ र राजदेवी नगरपालिकाले बक्यौताको आंशिक भुक्तानी गर्दै बाँकी रकम पनि चाँडै तिर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतापछि ती दुई पालिकाको विद्युत आपूर्ति पुनः सुचारु गरिएको छ ।






