काठमाडौं : चन्द्रमामा मानव पाइला पुगेको करिब ५४ वर्षपछि फेरि एकपटक चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु भएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो मानव मिसन आर्टेमिस–२ नेपाली समयअनुसार बिहीबार बिहान ३ः५० बजे फ्लोरिडाबाट सफलतापूर्वक लन्च भएको हो ।
यो मिसनमा क्रिस्टीना कोच, भिक्टर ग्लोभर, रिड वाइसम्यान र जेरेमी हेन्सेन सवार छन्, जसलाई एसएलएस रकेटमार्फत अन्तरिक्षमा पठाइएको छ ।
यो १० दिनको यात्राले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटर टाढासम्म लैजानेछ, जुन हालसम्मकै सबैभन्दा लामो मानव अन्तरिक्ष यात्रा मानिएको छ ।
परीक्षण मिसन, तर ऐतिहासिक महत्त्व
आर्टेमिस–२ मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमाको नजिकसम्म जानेछन्, तर त्यहाँ अवतरण गर्ने छैनन् । यो एउटा परीक्षण मिसन हो, जसको उद्देश्य भविष्यका चन्द्र अभियानहरूका लागि आवश्यक प्रविधि र क्षमताहरूको परीक्षण गर्नु हो ।
पूरा मिसन करिब १० दिनमा सम्पन्न हुनेछ र अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किनेछन् ।
नासाले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई यस ऐतिहासिक क्षणको साक्षी बन्न निम्तो दिएको थियो । एजेन्सीले यो मिसन मानिसलाई चन्द्रमा र अझ अगाडि मंगल ग्रहसम्म बसाल्ने दिशामा एउटा ठूलो कदम भएको जनाएको छ ।
‘डिप स्पेस’मा मानव परीक्षण
नासाको आर्टेमिस–२ मिसन चन्द्रमाको परिक्रमाभन्दा धेरै अगाडिको कथा हो । यसले पहिलोपटक ‘डिप स्पेस’मा मानव शरीरको वास्तविक परीक्षा लिन गइरहेको छ ।
चार अन्तरिक्षयात्री पृथ्वीको सुरक्षा सीमा बाहिर गएर कश्मिक रेडिएसन र अन्तरिक्षीय चरम परिस्थितिहरूको सामना गर्नेछन्, जहाँ उनीहरूको शरीरमा हुने हरेक परिवर्तनलाई रेकर्ड गरिनेछ ।
१९७२ पछि पहिलोपटक मानिस पृथ्वीको ‘म्याग्नेटिक फिल्ड’ बाहिर जानेछ र यो दुरी हालसम्मको कुनै पनि मानव अन्तरिक्ष यात्राभन्दा बढी हुन सक्छ ।
यो मिसन आर्टेमिस कार्यक्रमको एउटा महत्त्वपूर्ण हिस्सा हो, जसको दीर्घकालीन लक्ष्य चन्द्रमामा स्थायी मानव उपस्थिति स्थापना गर्नु हो ।
‘अर्गन अन–ए–चिप’ प्रविधि
यस मिसनको सबैभन्दा उन्नत प्रयोग ‘अर्गन अन–ए–चिप’ प्रविधि हो । प्रत्येक अन्तरिक्षयात्रीको रगतबाट प्राप्त कोशिकाहरूलाई माइक्रोचिपमा विकसित गरिनेछ ।
एउटा चिप अन्तरिक्षमा जानेछ र अर्को पृथ्वीमा रहनेछ । मिसनपछि दुवैको तुलना गरेर डीएनए ड्यामेज, टेलोमियरको लम्बाइ र अन्य जैविक सूचकहरूमा कति अन्तर आयो भनेर अध्ययन गरिनेछ ।
यो पहिलोपटक हुनेछ जब यस्तो प्रयोग ‘लो–अर्थ अर्बिट’भन्दा बाहिर गरिँदैछ । यसले भविष्यमा अन्तरिक्ष यात्राको जोखिम पूर्वानुमान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कति पटक सारियो लन्चिङ ?
आर्टेमिस–२ मिसनको लन्चिङ समय हालै केही पटक सारिएको थियो । प्रारम्भिक रूपमा यसलाई फेब्रुअरी २०२६ मा लन्च गर्ने योजना थियो, तर प्राविधिक समस्याका कारण ढिलाइ भएको थियो ।
पछि मार्चका विभिन्न मितिहरूमा ‘लन्च विन्डो’ तय गरिए पनि उडान सम्भव हुन सकेन । अन्ततः निरन्तर परीक्षण र तयारीपछि नासाले अप्रिल १, २०२६ मा लन्च गर्ने तयारी पूरा गरेको हो । यो मिसन अमेरिकाको केनेडी स्पेस सेन्टर बाट प्रक्षेपण गरिएको हो, जुन नेपालमा अप्रिल २ को बिहान परेको छ । यदि मौसम वा प्राविधिक कारणले उडान प्रभावित भएको भए, अप्रिल ३ देखि ६ र अप्रिल ३० सम्म वैकल्पिक तालिकाहरू पनि तय गरिएको थियो । (बाह्रखरीबाट)

