रौतहट : रौतहटमा शुक्रबार साँझ र शनिवार आएको भीषण हावाहुरीसँगै परेको असिनापानीले जनजीवन अस्तव्यस्त पार्नुका साथै कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
असिना र हावाहुरीले सर्वसाधारणका खपडा तथा टायलले छाएका घरहरूमा क्षति पुर्याएको छ भने खेतबारीमा लगाइएका विभिन्न बालीहरूमा ठुलो नोक्सानी भएको छ । विशेषगरी गहुँ, उखु, मसुरो, मकै, प्याज,फलफूल तथा तरकारी खेतीमा प्रत्यक्ष असर परेको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का कृषक दयालाल चौधरीले बताएका छन् ।
पाक्नै लागेको गहुँ र घोगा लाग्ने अवस्थामा पुगेको मकै बाली तीव्र हावाहुरीका कारण ढलेर नष्ट भएको छ । यसले किसानहरूलाई ठूलो आर्थिक संकटतर्फ धकेलेको छ ।
चन्द्रपुर, गुजरा, फतुवा विजयपुर र कटहरिया नगरपालिकामा समेत मकैसहित अन्य बालीमा व्यापक क्षति पुगेको छ । बिहानैदेखि परेको वर्षाले जिल्लाका १८ वटै स्थानीय तहमा लगाइएका गहुँ, मकै र मसुरो बालीमा करोडौँको नोक्सानी गरेको अनुमान गरिएको छ ।
स्थानीय तह तथा सम्बन्धित निकायहरूले क्षतिको विवरण सङ्कलन कार्य सुरु गरेका छन् । प्रभावित किसानहरूले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।






