दिपु मिश्र
रौतहट : रौतटहको चन्द्रनिगाहपुरमा नबिल बैंकले ‘ग्लोबल मनी विक, २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले चन्द्रपुर ६ स्थित जन ज्योति नमुना माध्यामिक बिद्यालयमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरताको बिषयमा क्लास गराएर कार्यक्रम सम्पन्न गरेको हो । बैंकले विद्यार्थी तथा युवाहरुलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो ।
बिद्यार्यीहरुलाई बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको नबिल बैंक चन्द्रपुर शाखाको शाखा प्रबन्धक देजेन्द्र राईले बताएका छन् ।
बैकका सहायक शाखा प्रबन्धक अबिरल सुवेदीका अनुसार नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै, सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ । युवा तथा विद्यार्थीलाई लक्षित गरी सहुलियत ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा प्रवाह पनि गरिरहेको बताएका छन् ।
उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको जानकारी दिएका छन् ।






