एजेन्सी
अफगानिस्तान : सोमबार राति अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताहरूको उपचार गर्ने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ । यद्यपि, पाकिस्तानले अस्पतालमा आक्रमण गरेको आरोपलाई अस्वीकार गरेको छ ।
पूर्वी अफगानिस्तानमा समेत गरिएका आफ्ना आक्रमणहरूले कुनै पनि गैरसैनिक क्षेत्रलाई लक्षित नगरेको पाकिस्तानको भनाइ छ ।
अफगानिस्तानका उपसरकारी प्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्स मा एक पोस्ट गर्दै स्थानीय समयअनुसार राति करिब ९ बजे अस्पतालमा हवाई आक्रमण भएको जानकारी दिएका छन्। आक्रमणले २,००० शय्या क्षमताको उक्त अस्पतालको ठुलो भाग नष्ट गरेको छ। उनले हालसम्म मृत्यु हुनेको सङ्ख्या ४०० पुगेको र करिब २५० जना घाइते भएको बताएका छन् ।
स्थानीय टेलिभिजन स्टेसनहरूले एक्समा पोस्ट गरेका भिडियो फुटेजहरूमा सुरक्षाकर्मीहरूले टर्चलाइटको सहायताले घाइतेहरूको उद्धार गरिरहेको र अग्नि नियन्त्रकहरू भत्किएको भवनको भग्नावशेषमा लागेको आगो निभाउन संघर्ष गरिरहेको देखिन्छ । फितरतका अनुसार उद्धार टोलीहरू आगो नियन्त्रण गर्न र शवहरू निकाल्न खटिएका छन् ।
दुई छिमेकी देशबीच वर्षौंपछिको सबैभन्दा घातक लडाइँ तेस्रो हप्तामा प्रवेश गरेको छ । यो हवाई आक्रमण हुनुभन्दा केही घण्टा अघि मात्र साझा सीमा क्षेत्रमा दुवै पक्षबीच गोली हानाहान भएको थियो, जसमा अफगानिस्तानतर्फ चार जनाको ज्यान गएको अफगान अधिकारीहरूले बताएका थिए ।
अफगान सरकारले यस आक्रमणको निन्दा गर्दै पाकिस्तानले ’आतंक मच्चाउन अस्पताल र नागरिक स्थलहरूलाई लक्षित गरेको’ आरोप लगाएका छन् ।

