April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कुन–कुन क्षेत्रमा भयो रास्वपाको जमानत जफत

२०८२ फाल्गुन २४

425

काठमाडौँ : देशव्यापी लहर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका ६ उम्मेदवारको जमानत जफत भएको छ । हालसम्म मत परिणाम सार्वजनिक भई रास्वपाले पराजय व्यहोरेका २० क्षेत्रमध्ये सो सङ्ख्याका क्षेत्रहरूमा जमानत जफत भएको हो ।
कुनै पनि उम्मेदवारले कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा त्यस्तो उम्मेदवारले राखेको जमानत (धरौटी) जफत हुने व्यवस्था छ । हालसम्म मतपरिणाम सार्वजनिक भएकामध्ये अछाम–१, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पूर्व र म्याग्दीमा जमानत जोगिन नसकेको हो ।
अछाम–१ मा भरतकुमार स्वारले १० हजार ७५९ मत ल्याउँदा रास्वपाका ओमप्रकाश रावलले १७३९ मत पाए । यहाँ झन्डै ३० हजार मत सदर भएको थियो । जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याउँदा रास्वपाका राघव कार्कीले २४७१ मत पाए । यहाँ झन्डै ५७ हजार मत सदर भएको थियो ।
त्यस्तै, कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याउँदा रास्वपाका प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाए । यहाँ झन्डै ३३ हजार मत सदर भएको थियो । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले १४ हजार ८१६ मत ल्याउँदा रास्वपाकी बिनिता कठायतले ४२१ मत पाइन् । यहाँ झन्डै ३८ हजार मत सदर भएको छ ।
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल प्रचण्डले १० हजार २४० मत ल्याउँदा रास्वपाकी लखन कुमार थापाले ८१९ मत पाए । यहाँ झन्डै १७ हजार मत सदर भएको छ ।
म्याग्दीमा पनि रास्वपा उम्मेदवारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा रास्वपाबाट युवराज रोका उम्मेदवार भए पनि पूर्व शिक्षामन्त्री महावीर पुन उम्मेदवारी दिएपछि रास्वपाले उनलाई सघाउने निर्णय गरेको थियो, यद्यपि फिर्ता दिने समय गुज्रिएकोले उनको उम्मेदवारी प्राविधिक रूपमा कायमै रहेको थियो ।
यो क्षेत्रमा रोकाले १५३० मत पाए । निर्वाचित भएका पुनले २२ हजार ८५० मत पाएका थिए । यो क्षेत्रबाट जम्मा झन्डै ४३ हजार मत सदर भएको थियो ।