September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मलंगवा : सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी महतो मुख्य योजनाकार

२०८२ फाल्गुन १६

355

सर्लाही : सर्लाहीमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याका मुख्य योजनाकार लोकसेवा आयोगका प्रतिस्पर्धी गणेश महतो रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
गत फागुन ३ गते साँझ गोली प्रहारबाट सब–इन्जिनियर यादवको हत्या गरिएको थियो । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले बनाएको अनुसन्धानको निष्कर्ष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक(एसपी) सरोज राईले जानकारी दिए ।
एसपी राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए । वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका उनले यादवको हत्या गरेर उनको सिटमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ ।
एसपी सरोज राईले भने, ‘आरोपी महतो लोकसेवाका प्रतिस्पर्धी हुन्, उनकै योजनामा सब–इन्जिनियरको हत्या भएको देखिन्छ ।’
प्रहरीले उनीसहित हत्यामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमानाबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।