काठमाडौं : निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
महासंघले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो ।
फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । महासंघले उक्त धारणा निर्वाचन आचारसंहिता विपरीत र सस्तो लोकप्रियताका लागि दिइएको आरोप लगाएको छ ।
महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने संगठनमाथि यस प्रकारको सार्वजनिक अभिव्यक्ति आउनु दुःखद रहेको उल्लेख गरिएको छ । महासंघले भौतिक पूर्वाधार विकासमा निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको भए पनि समय–समयमा विभिन्न व्यक्तिबाट गरिने आपत्तिजनक टिप्पणीले व्यवसायीहरूको तेजोवध हुने गरेको जनाएको छ ।
महासंघले निर्माण कार्यमा ढिलाइ हुनुका वास्तविक कारण ऐन–कानुन, स्रोत सुनिश्चितताको अभाव, न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन तथा नीतिगत जटिलता भएको दाबी गरेको छ ।
वि.सं. २०७३–७४ पछि करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख हाराहारी आयोजना स्वीकृत भए पनि सरकारको अव्यवहारिक नीति तथा स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको महासंघको भनाइ छ ।






