काठमाडौं : तराईका जिल्लाहरुमा लगातारको हुस्सु र शितलहरका कारण चिसो बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
विगत चार दिनदेखि बढेको चिसोका कारण पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ ।
वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन बन्द गरेको छ ।
पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि भोलिसम्म विदा दिएका छन् । यस्तै, बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ ।
सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्म विद्यालयमा विदा दिएको छ । यस्तै, रौतहटमा गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको छ । यस्तै महोत्तरीको भंगहा तथा रामगोपालपुर नगरपालिकाले पनि ६ दिनका लागि विद्यालय बन्द गराएका छन् ।
पछिल्लो केह दिनयता तराईंका जिल्लाहरुमा निरन्तर शीतलहर चलिरहेको छ । न्यूनतम १३ देखि १४ डिग्री सेल्सियस आसपास मात्र तापक्रम रहने गरेको छ ।
चिसो बढ्दा ती क्षेत्रका स्थानीयको जनजीवन प्रभावित भएको छ भने बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् ।






